Welcome to HEAN

होस्टल व्यवसायी संघ नेपालको चौँथो वार्षिकोत्सव सम्पन्न, ५० भन्दा बढीले गरे रक्तदान

General · 11 Aug 2026

All Notices
General

होस्टल व्यवसायी संघ नेपालको चौँथो वार्षिकोत्सव सम्पन्न, ५० भन्दा बढीले गरे रक्तदान

Tuesday, 11 August 2026 | Posted 3 weeks ago
होस्टल व्यवसायी संघ नेपालको चौँथो वार्षिकोत्सव सम्पन्न, ५० भन्दा बढीले गरे रक्तदान
काठमाडौं । होस्टल व्यवसायी संघ नेपाल (HEAN) को चौँथो वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। संघले वार्षिकोत्सवको अवसरमा शंखमूलस्थित होटल ए–वानको सभाहलमा रक्तदान, सदस्य सम्मान तथा केक काट्नेलगायतका कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवको अवसरमा बिहान ११ बजेदेखि सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका छन्। एभरेष्ट हस्पिटल प्रा.लि., नयाँ बानेश्वरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

वि.सं. २०७९ सालमा स्थापना भएको संघले आफ्नो स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आएको छ। व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संघले रक्तदानलगायत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवको औपचारिक कार्यक्रम दिउँसो १२ः३० बजे सुरु भएको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख दीपक अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले विद्यार्थी तथा सेवाग्राहीलाई सुरक्षित र व्यवस्थित आवासको सुविधा उपलब्ध गराउन होस्टल व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सम्बन्धित निकाय र व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा अधिकारीले जोड दिए।

संघका केन्द्रीय अध्यक्ष किरण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शर्माले संघले स्थापनाकालदेखि नै होस्टल व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताए। वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नु मानवीय सेवाप्रतिको संघको प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ थियो।

कार्यक्रममा संघका पूर्व पदाधिकारीहरूलाई संघको स्थापना तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै, संघका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका काठमाडौं जिल्ला कार्यसमितिका सचिव ध्रुव कडेल र सदस्य निरज ढकाललाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा केक काट्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा होस्टल व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संघका महासचिव देवराज कँडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले होस्टल व्यवसायको सुधार, व्यवसायीबीचको एकता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

चौँथो वार्षिकोत्सवसँगै आयोजना गरिएको रक्तदान, सम्मान तथा अन्य कार्यक्रमले होस्टल व्यवसायीबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने विश्वास संघले व्यक्त गरेको छ।
General Read
Back to all notices